Harsamaya
दुर्घटनामा घाइते सहयात्रीलाई चाबी र काठले प्रहार गरी हत्या, चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बर्दिया - बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा–७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा–९ बेथहनीका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।

अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामा रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको तथा मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि शव सिँचाइ नालामा फालेर उनी फरार भएका थिए।

प्रहरीले आरोपी गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update