Harsamaya
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौं महानगरपालिका–९ नागपोखरीस्थित एक घरमा छापा मारेर प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न करिब ५ बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले घर, कोठा र बा ७ च ५१५० नम्बरको सवारीसाधनमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट २२४ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम, नगद रु. १ लाख ९८ हजार ३२५, तीन थान ल्यापटप, एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका–४ का ५१ वर्षीय रोलिन श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ का ५१ वर्षीय भूपेन्द्र श्रेष्ठ र हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका–६ का ४० वर्षीय सुजन रायमाझी रहेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update