नेपालगञ्ज - बाँकेको नेपालगञ्जबाट प्रहरीले करिब ५७८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागूऔषध मुद्दामा सजाय भुक्तान गरिसकेका एक पटके कारोबारी पनि रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतको बाह्रपंखीबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्दै आएको सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ३० वर्षीय सुशील भण्डारी र ५५ वर्षीय अरुण कुमार जयसवाललाई पक्राउ गरेको हो।
प्रहरीले सुरुमा उनीहरूको साथबाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा कोठाको दराजमा लुकाएर राखिएको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको थियो। यससँगै बरामद खैरो हेरोइनको कुल परिमाण ५७८ ग्राम ९५० मिलिग्राम पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नगद १ लाख ८० हजार नेपाली रुपैयाँ र २ लाख १४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका अरुण कुमार जयसवाल यसअघि पनि लागूऔषध खैरो हेरोइन मुद्दामा पक्राउ परेको खुलेको छ। प्रहरीका अनुसार उनी २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए र उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्।
बरामद लागूऔषध, नगद तथा अन्य सामग्रीसहित दुवै प्रतिवादीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

