भक्तपुर - भक्तपुरको नगरकोटमा सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार आइतबार राति करिब १० बजे भक्तपुर नगरपालिका–१ नगरकोटस्थित एक स्थानमा सामान्य विवादका क्रममा झैँ–झगडा हुँदा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो।
गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ।

