पोखरा - फेवातालमा हुने जल दुर्घटनाका घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ।
सशस्त्र प्रहरीले असोज ११ गतेदेखि फेवातालमा जेट स्की बोट सञ्चालनमा ल्याएको हो। फेवातालमा हुने पानीजन्य दुर्घटना तथा अन्य आपत्कालीन घटनामा छिटो खोज तथा उद्धार गर्न सहज हुने उद्देश्यले उक्त बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।
तीन सिट क्षमताको जेट स्की बोटले प्रतिघण्टा करिब १०५ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता रहेको छ। उक्त बोट लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने बताइएको छ।
फेवातालमा बढ्दो पर्यटकीय गतिविधि तथा जलयात्राका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले यसअघि नै खोज तथा उद्धारका लागि संरचना स्थापना गरेर सेवा दिँदै आएको छ।
सशस्त्र प्रहरी बल, नेपालले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यु टावर’ स्थापना गरी फेवातालमा निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आएको छ।
उक्त टावरमार्फत खटिएका सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जनाको जीवितै उद्धार गरिसकेका छन् भने ५३ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
उच्च गतिको जेट स्की बोट सञ्चालनमा आएपछि फेवातालमा हुने आपत्कालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने सशस्त्र प्रहरीले विश्वास लिएको छ।

