Harsamaya
चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको चन्द्रागिरिबाट चोरीका दुई वटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँस्थित घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजतलास थालेको थियो।

खोजतलासका क्रममा प्रहरीले चन्द्रागिरि नगरपालिका–१, गोकुलपाटीबाट दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरि नगरपालिका–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ कै २२ वर्षीय आकाश तामाङ र सोही गाउँपालिका–८ का २१ वर्षीय वेलबहादुर तामाङ रहेका छन्।

उनीहरूको साथबाट बा.प्र. ०२–०४१ प ३९३४ र बा.प्र. ०२४५ प ६७०५ नम्बरका दुई मोटरसाइकल, बाइकको लक तोड्न प्रयोग हुने ‘टी’ आकारका औजार दुई थान, सिमकार्ड दुई थान, मोबाइल दुई थान र नेपाली नगद ५५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update