काठमाडौं - सांसद निष्कल राईले भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्ड (एसओपी) का कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा समस्या सिर्जना गरेको छ। इलामका चिया उद्योगी र किसानले उद्योगमा ताला झुन्डाएको तीन दिन भइसक्यो।’
उनका अनुसार परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने र सामान्य समस्या देखिए पनि उत्पादन नष्ट गर्नुपर्ने बाध्यताले उद्योग सञ्चालन नै प्रभावित भएको छ।
‘सूर्योदय नगरपालिकाभित्र मात्रै ५३ भन्दा बढी र जिल्लाभर ८३ भन्दा बढी चिया उद्योग बन्द भएका छन्,’ राईले भने।
सरकारले समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाउँदै उनले चिया क्षेत्र संकटमा पर्दा किसान, श्रमिक र उद्योगी सबै प्रभावित भएको बताए।
‘चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगारी गुमेको छ। उद्योगीले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न सक्ने अवस्था छैन,’ उनले भने।
राईले आफूले यो विषय पटक–पटक सदनमा उठाएको र प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएको उल्लेख गरे।
उनले सरकारसँग तत्काल भारतसँग सरकारी तह (जी–टु–जी) मा वार्ता गर्न, कूटनीतिक पहल बढाउन, नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न तथा तेस्रो मुलुकमा चियाको बजार सुनिश्चित गर्न माग गरे।
‘चियाको निर्यात खुलाउन जी–टु–जी पहल गरियोस्, कूटनीतिक अभ्यास बढाइयोस्, चिया परीक्षण ल्याब निर्माण प्रक्रिया अघि बढाइयोस् र तेस्रो देशमा बजार सुनिश्चित गरी निर्यात प्रक्रिया सहज बनाइयोस्,’ राईले आग्रह गरे।

