Harsamaya
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच अमेरिकामा भेटवार्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा ।

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डिसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच भएको भेटमा नेपालको बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ।

भेटमा भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणलगायत क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा छलफल भएको थियो।

विश्व बैंक अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । 

उहाँले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । 

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।

भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update