Harsamaya
भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंक ।

काठमाडौं - रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत्, विद्युत् प्रसारण, यातायातलगायत पूर्वाधारमा भएको क्षतिले उद्योग क्षेत्र प्रभावित हुने तथा व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा परेको अवरोधले सेवा क्षेत्रसमेत प्रभावित हुनेछ।

पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढेसँगै आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।

विश्व बैंकले बाढीपछि क्षतिग्रस्त संरचना पुनर्निर्माणसँगै बहुविपद् जोखिमको पुनर्मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा सडक, ऊर्जा र सञ्चारजस्ता महत्वपूर्ण पूर्वाधारमा वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको छ।

यसैबीच, विश्व बैंकले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सन् २०२७ मा भने वृद्धि ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बौद्धिकताको प्रयोग बढाएर श्रम उत्पादकत्व, निर्यात तथा सार्वजनिक सेवा प्रवाह सुधार गर्न सकिने उल्लेख गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update