काठमाडौं - नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुआतमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण विनिमय दरमा भएको नाफासहित घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो ।
सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ । वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ ।
यसअनुसार सरकारले चालु आर्थिक वर्षको ऋण परिचालन लक्ष्य पूरा गर्न अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ जुटाउन बाँकी छ । त्यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी रहेको छ ।
ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब खर्च
सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो ।
कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च २ दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।
आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजित ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँमध्ये कात्तिक मसान्तसम्म २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो ।
यस अवधिमा वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

