Harsamaya
बाढीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिएन
राइनो क्रुज ।

चितवन - नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज अझै नदीबाट निकाल्न सकिएको छैन। असोज ११ गतेको बाढीले बगाएको क्रुज करिब तीन सय मिटर तल पुगेपछि नारायणी पुलमुनिको पिलरमा ठोक्किएर अड्किएको थियो।

क्रुजका कारण पुलमा क्षति पुग्न सक्ने भन्दै तत्काल निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेन। जिल्ला प्रशासन कार्यालय चितवन, सडक डिभिजन कार्यालय चितवन, गैँडाकोट नगरपालिकालगायत निकायको सक्रियतामा तीन वटा ठूला यन्त्रको प्रयोग गरी क्रुज तान्ने प्रयास गरिएको थियो।

क्रुज सञ्चालन गर्दै आएको राइनो वाटर इन्टरटेनमेन्टका अध्यक्ष दीपक ढुङ्गेलका अनुसार क्रुजलाई तानेर पिलरबाट छुटाई पल्टाएर राखिएको भए पनि त्यहाँबाट बाहिर निकाल्न सकिएको छैन। अहिले पनि क्रुजको करिब ३३ प्रतिशत भाग पानीमुनि रहेको र ठूला इञ्जिनसमेत पानीमा डुबेको उनले बताए । 

 ‘अहिले क्रुजका कारण पुललाई कुनै क्षति हुने अवस्था छैन। पानी घटेपछि बाटो बनाएर अन्य उपकरणको प्रयोग गरी तानेर बाहिर निकाल्ने योजना छ,’ ढुङ्गेलले भने, ‘अहिले क्रुज भित्तामा टाँसिएको छ। टुचिन लगाएर एङ्कर गाडेर अड्याइएको छ।’

क्रुजको अवस्थाबारे गृह मन्त्रालय, पर्यटन मन्त्रालयलगायत सरकारी निकायलाई औपचारिक जानकारी गराइसकेको उनले बताए । 

भरतपुरको काभ्रेघाटमा तटबन्धन गरेर क्रुज सञ्चालन गरिएको भए पनि त्यहाँ असहज भएपछि नवलपरासीको गैँडाकोटबाट सञ्चालन हुँदै आएको थियो। वर्षा सुरु भएपछि असारदेखि क्रुज नदी किनारमा राखिएको थियो।

क्रुज सञ्चालनका लागि ३० जनाले करिब रु १५ करोड लगानी गरेको ढुङ्गेलले बताए । बाढीले बगाएपछि क्रुज सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको र रु १० करोडभन्दा बढीको क्षति भएको उनको भनाइ छ।

समूहगत लगानीमा सञ्चालन गरिएको परियोजना भएकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने उनले बताए । विपद्का कारण क्षति भएकाले सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको उनले उल्लेख गरे । नेपालमा यस प्रकारको क्रुज नभएकाले बीमा प्राधिकरणसँग पनि यसका लागि उपयुक्त योजना नभएका कारण बीमा गर्न नसकिएको उनको भनाइ छ।

सरकारको गौरवको आयोजनाका रूपमा क्रुज सञ्चालनमा ल्याइएकाले यसलाई पुनः सञ्चालन गर्न सरकारी सहयोग आवश्यक रहेको ढुङ्गेलले बताए । पर्यटन विभागबाट देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रामा एकपटकमा १५० जनालाई सेवा दिन अनुमति लिइएको उनले जानकारी दिए । 

९५ फिट लामो र २१ फिट चौडा क्रुज साढे दुई तलाको छ। यसमा एकपटकमा १५० जनासम्मले यात्रा गर्न सक्ने व्यवस्था थियो। क्रुजमा खाजा, बिहान तथा बेलुकाको खाना खानुका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका थिए। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको ढुङ्गेलले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update