Harsamaya
काँग्रेसको ‘जरा अभियान’मा पार्टीको आन्तरिक विवाद छताछुल्ल: शेरबहादुर देउवाको स्थान कहाँ हुन्छ भन्दै मञ्चबाटै गगन थापालाई प्रश्न ?
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह ।

काठमाडौं - नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति संघर्ष सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पार्टी सभापति गगन कुमार थापा सामुन्ने नै नेतृत्व, सरकार परिवर्तन र देउवा पक्षमाथिको व्यवहारबारे कडा असन्तुष्टि पोखेका छन्।

धनगढीमा आयोजित ‘जरा अभियान’ कार्यक्रममा बोल्दै शाहले पूर्वसभापति शेरबहादुर देउवालाई टिकटबाट वञ्चित गरिएको विषय उठाउँदै पार्टीभित्र पुराना नेतामाथि अपमान भइरहेको बताए । 

‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’ भन्दै उनले नेतृत्वलाई प्रत्यक्ष प्रश्न गरे।

शाहले २३ र २४ गते देउवा दम्पतीमाथि भएको व्यवहारलाई पनि अस्वाभाविक भन्दै त्यसबारे पार्टी स्पष्ट हुनुपर्ने बताए।

उनले सभापति थापा धनगढी आउँदा कार्यक्रमभन्दा सरकार ढाल्ने चर्चा बढी भएको भन्दै असन्तुष्टि जनाए। समानुपातिक सांसद फिर्ता बोलाएर सरकार परिवर्तनको खेल चलाइएको आरोपसमेत उनले लगाए।

म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, भन्दै शाहले आफू पदका लागि नभई सिंगो कांग्रेस जोगाउन मैदानमा उत्रिएको दाबी गरे।

यद्यपि उनले गगन कुमार थापालाई आगामी १० वर्ष कांग्रेसको नेतृत्व गर्नुपर्ने नेता भएको बताए। तर त्यसकै बीचमा उनले तपाईंको कार्यसमितिभित्रै भाइरस छन्, तिनले तपाईंलाई समाप्त पार्न सक्छन् भन्दै पार्टीभित्रको अन्तरघात खुला रूपमा सार्वजनिक गरे।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update