Harsamaya
कांग्रेसका ५१२ पालिकामा अधिवेशन, २४१ पालिकाको असोज ८ र ९ गते हुने
नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया अघि बढेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका अनुसार बुधबारसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटनसहित बन्दसत्र सुरु भई निर्वाचन प्रक्रिया अघि बढेको छ।

कांग्रेसले बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन जारी रहने जनाएको छ।

कांग्रेस केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। सोहीअनुसार पालिकादेखि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन अघि बढिरहेका छन्।

यसैबीच, जल तथा मौसम विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि कांग्रेसले अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतलाई मौसमको अवस्था ध्यानमा राख्न निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सम्बन्धित निर्वाचन अधिकृतलाई आफ्नो मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन मौसम अनुकूल हुने गरी आवश्यक सतर्कता अपनाएर सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update