काठमाडौं - सरकारको कामकारबाहीप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले असन्तुष्टि जनाउन थालेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले भोटेकोशी बाढीपछि उद्धार, राहत र प्रभावितको पुनःस्थापनामा सरकार चुकेको आरोप लगाए।
रास्वपा सांसद भरत पराजुलीले बाढीमा बेपत्ता नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे। बाढी आएको २९ दिन बितिसक्दा पनि बेपत्ता नागरिकका परिवार अन्योलमा रहेको भन्दै उनले सरकारले तत्काल निर्णय गर्नुपर्ने बताए।
उनका अनुसार भोटेकोशी क्षेत्र व्यापारिक नाका तथा केन्द्रसमेत भएकाले बाढीको असर प्रभावित क्षेत्रमै सीमित नभई देशका ६५ जिल्लासम्म परेको छ। तर बेपत्ता नागरिकको विषयमा सरकारले आवश्यक निर्णय नगर्दा परिवारले राहत तथा क्षतिपूर्ति पाउन नसकेको उनको भनाइ छ।
पराजुलीले विगतका बाढीपहिरोका घटनामा पाँच दिनभित्रै बेपत्ता व्यक्तिलाई मृत्युसरह कायम गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय हुने गरेको उल्लेख गर्दै यसपटक पनि तत्काल निकासा गर्न माग गरे।
त्यस्तै, नेकपाका सांसद युवराज दुलालले बाढीपछि लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको अब मृत्यु भएको मान्नुपर्ने भन्दै त्यसअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए।
रास्वपाकै सांसद मनिष झाले भने बाढीपीडितका लागि सञ्चालन गरिएका राहत शिविरमा महिला र बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए। विभिन्न स्थानका शिविरमा महिला तथा बालबालिका सुरक्षित नरहेको गुनासो आएको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षाका लागि विशेष कदम चाल्न माग गरे।
सत्तारूढ दलकै सांसदहरूबाट एकै बैठकमा राहत, क्षतिपूर्ति, कानुनी निर्णयदेखि विस्थापित महिला र बालबालिकाको सुरक्षासम्मका प्रश्न उठेपछि सरकारको बाढीपछिको व्यवस्थापनमाथि प्रश्न थपिएको छ।

