Harsamaya
रास्वपाकी समानुपातिक सूचीकी उम्मेदवार मोहना अन्सारीलाई काँग्रेसको नीति बनाउने जिम्मा
मोहना अन्सारी ।

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यको रुपमा बुधबार सपथ ग्रहणपछि उनी काँग्रेस प्रवेश भएको बाहिरिएको हो । यसअघि वैशाख २२ गते काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति विश्व प्रकाश शर्मा रहेको प्रतिष्ठानको सदस्यमा उनको पनि नाम समावेश थियो ।

उनलाई काँग्रेसले नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य बनाएको छ । गत निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा थिइन् । उनको नाममा धेरै विरोध भएपछि उनको नाम हटाइएको थियो । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य भएपछि अब भने उनले काँग्रेसीहरूलाई प्रशिक्षण दिनेछिन् । 

उनले सामाजिक सञ्जालमार्फत कांग्रेसमा आबद्ध भएको जानकारी दिएकी छिन् ।  ‘जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु’, उनले लेखेकी छिन् ।

अन्सारीले जेन-जी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियानमार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने वाचा गरेकी छिन् । 

यस्तै गत निर्वाचनमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट पराजित सचिन तिमल्सिनाकी श्रीमती प्रकृति भट्टराई बस्नेत पनि काँग्रेस प्रवेश गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेको बताएकी छिन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update