सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशवबहादुर कार्कीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित ४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
एमाले सचिवालय बैठकः नेकपा एमालेको बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई दिएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' को अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले सरकारलाई बधाई तथा शुभकामना दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भारी बहुमतका साथ सरकार गठन गर्न सफल भएकोमा प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको जानकारी दिए।
रात्रिकालीन बससेवा सञ्चालन: काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।
८५ हजार कुखुरा नष्ट: बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ ।पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लू (एच ५एन १) को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ ।वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो ।
चाँदीको मूल्य बढ्यो: स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा ५० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो ।
डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सभामुख पदका लागि तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको थियो। उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि २ बजेसम्मका लागि खुला गरिएको थियो।अर्यालको उम्मेदवारी रवि लामिछाने प्रस्तावक तथा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।
प्रमुख प्रशासकीय अधिकृत खटाइयो: स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

