काठमाडौं - सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशवबहादुर कार्कीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित ४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
सोलुखुम्बुको साबिक चौँरीखर्क गाउँ विकास समितिको वडा नम्बर ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको दाबी आयोगको छ । आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख कार्कीको मृत्यु भइसकेको हुनाले उनको श्रीमती कमला कार्कीलाई प्रतिवादी कायम गरेको छ ।
आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, स्थानीय मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो कायम गरिएको छ ।

