Harsamaya
मलेसिया पठाइएको एक अर्ब ६९ करोडको रकम प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ।

काठमाडौं - मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी तथा तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल रहेका छन् । त्यस्तै, मन्त्रालयकी तत्कालीन उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीको दाबीअनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३३९ अमेरिकी डलर ९२ सेन्ट र ३ करोड ७१ लाख ७९ हजार ८०० पाउन्ड ८० पेन्स गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाइएको थियो ।

उक्त रकम पठाउने निर्णय गर्दा सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचिएको, अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको तथा देशको मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी निर्णय गरिएको आरोप पक्राउ परेका व्यक्तिहरूमाथि लगाइएको छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update