काठमाडौं - मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणको अनुसन्धान तत्कालीन मन्त्री र कर्मचारी हुँदै पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ । अर्यालविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनी फरार रहेको बताइएको छ ।
यस प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
त्यसअघि पनि सीआईबीले यसै प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको थियो । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी रहेका छन् ।
यससँगै मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ भने पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रकरणमा मलेसिया पठाइएका श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

