Harsamaya
एक महिनाभित्र रकम नबुझाए व्यवसाय सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - बजार अनुगमनका क्रममा कारबाहीमा परेर जरिवाना तिर्न बाँकी रहेका व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत विभिन्न मितिमा गरिएको नियमित तथा आकस्मिक बजार अनुगमनका क्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि जरिवाना गरिएका कतिपय फर्म, कम्पनी तथा प्रतिष्ठानले हालसम्म पनि सरकारी राजस्व खातामा रकम दाखिला नगरेको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतबाट तत्काल जरिवाना गरिएका व्यवसायीले जरिवाना रकम बुझाएको प्रमाणसमेत विभागमा पेस नगरेको अभिलेखबाट देखिएको विभागको भनाइ छ।

विभागले जरिवाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको रकम सरकारी राजस्व खातामा दाखिला गर्न आग्रह गरेको छ। रकम दाखिला गरेपछि सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउन पनि भनिएको छ।

विभागले तोकिएको समयभित्र जरिवाना नबुझाए व्यवसाय सिलबन्दी गरी कारोबार तत्काल रोक्का गर्ने चेतावनी दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (५) तथा दफा ४० बमोजिम सम्बन्धित व्यवसाय, पसल वा प्रतिष्ठान सिलबन्दी गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, व्यवसाय सञ्चालनका लागि प्राप्त इजाजतपत्र तथा अनुमतिपत्र निलम्बन वा खारेज गर्न सम्बन्धित सरकारी निकायमा सिफारिस गरिने विभागले जनाएको छ। प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, कम्पनी ऐन, २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम फर्म वा कम्पनीको दर्ता खारेजीका लागि समेत प्रक्रिया अघि बढाइनेछ।

जरिवाना रकम सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइने विभागको चेतावनी छ। त्यसका लागि सम्बन्धित मालपोत कार्यालय तथा बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीका चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

विभागका अनुसार जरिवाना रकम हिमालयन बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको सरकारी राजस्व खातामा दाखिला गर्नुपर्नेछ। त्यसका लागि राजस्व शीर्षक १४३१२ र कार्यालय कोड ३०७०५३५०१ तोकिएको छ।

जरिवाना दाखिला गर्ने प्रक्रिया तथा बैंक खातासम्बन्धी थप जानकारी विभागको वेबसाइट www.doc.gov.np वा टोल फ्री नम्बर ११३७ मार्फत लिन सकिने विभागले जनाएको छ।

विभागले उपभोक्ताको हकहित संरक्षण र स्वच्छ तथा प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि गरिएको अनुगमनपछि तोकिएको जरिवाना समयमै नतिर्ने व्यवसायीमाथि थप कडा कदम चाल्ने संकेत गरेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update