काठमाडौं - नेकपा एमालेको बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई दिएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' को अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले सरकारलाई बधाई तथा शुभकामना दिएको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भारी बहुमतका साथ सरकार गठन गर्न सफल भएकोमा प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको जानकारी दिए।
यस्तै बैठकले पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरेको र यसमा कुनै बाह्य हस्तक्षेप वा नियन्त्रण नभएको स्पष्ट पारेको छ। साथै‚ कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति गम्भीर समीक्षा गर्दै पार्टीले ती निकायहरूप्रति आफ्नो सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ।
भट्टका अनुसार बैठकले एमालेका नेता, कार्यकर्ता र विशेष गरी महिला दिदीबहिनीहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै‚ वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै एमालेले त्यसको कडा विरोध गरेको छ र सो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
यसबाहेक सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णयले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने भन्दै एमालेले विरोध गरेको छ भने पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका र स्वदेश फर्कन चाहने नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारसँग जोडदार माग गरेको छ ।

