Harsamaya
चैत १६: ओली-लेखकको रिहाइ मागमा कारण देखाउ आदेश देखि संसद् बैठक आह्वान सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली कांग्रेसका वरिष्ठ नेता नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् । आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे । ‘संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

ओली-लेखकलाई रिहा गर्न अस्वीकारः सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको यस्तै निवेदनमा भने अझै निर्णय आउन बाँकी रहेको छ। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो।

संघीय संसद्को बैठक आह्वान: राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।  सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो एजेन्डा: नेपाली कांग्रेसको संस्थापन इतर समूहले आह्वान गरेको केन्द्रीय समिति बैठकका लागि तीन एजेन्डा तय गरेको छ ।मंगलबारबाट शुरू हुने बैठकमा मुख्य तीन विषयमा छलफल हुने तयारी भएको समूहका नेता तथा निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए । धुम्बाराहीमास्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेबाट बस्ने बैठकमा तय भएका एजेन्डामाथि  छलफल हुने बरालले बताए । ‘हालसम्म तीन एजेन्डा हामीले तय गरेका छौं‚’ उनले भने ।​

आवेदन दिएको दिनमै श्रम स्वीकृति: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउँदै आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यसअघि लागू रहेको टोकन प्रणाली हटाउँदै सेवा छिटो र सहज बनाउने निर्णय गरिएको हो। यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको दिनमा मात्र स्वीकृति लिनुपर्ने व्यवस्था थियो। आइतबार मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृति प्रक्रियालाई डिजिटल र सेवाग्राहीमैत्री बनाउने निर्णय गरेको हो।

सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज(सोमबार)पनि आन्दोलन जारी छ ।सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिसोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन् । 

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update