काठमाडौं - सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको यस्तै निवेदनमा भने अझै निर्णय आउन बाँकी रहेको छ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो। त्यसपछि आइतबार काठमाडौँ जिल्ला अदालतले दुवै नेतालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
ओली र लेखकको गिरफ्तारी कानुनविपरीत भएको दाबी गर्दै उनीहरूका कानुन व्यवसायीहरूले विरोध जनाइरहेका छन्। यसैबीच, दुवै नेताका पत्नीहरूले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको निवेदनमाथि सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा बहस भएको थियो। त्यस्तै लेखककी पत्नी यशोदा लेखकद्वारा दायर निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो।
यसबीच नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउलाई प्रतिशोधपूर्ण भन्दै देशव्यापी प्रदर्शन जारी राखेको छ।

