Harsamaya
सर्वोच्चकालागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
सभापति बोधनारायण श्रेष्ठ ।

काठमाडौं - सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।

उनले भने, ‘न्यायपरिषदको मिति २०८३ असोज २० गतेको निर्णय अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई संघीय संसदको संयुक्त बैठकमा संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम सर्वसहमतिले अनुमोदन भएको घोषणा गर्दछु ।’

समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो ।

प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update