काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउँदै आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यसअघि लागू रहेको टोकन प्रणाली हटाउँदै सेवा छिटो र सहज बनाउने निर्णय गरिएको हो। यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको दिनमा मात्र स्वीकृति लिनुपर्ने व्यवस्था थियो।
आइतबार मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृति प्रक्रियालाई डिजिटल र सेवाग्राहीमैत्री बनाउने निर्णय गरेको हो।
यससँगै पूर्व–प्रस्थान अभिमुखीकरण तालिमलाई पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने र पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री डिजिटल माध्यममार्फत उपलब्ध गराउने योजना अघि सारिएको छ।
मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने अभियान सञ्चालन गर्ने, न्यूनतम् ज्याला कार्यान्वयन कडाइका साथ लागू गर्ने तथा श्रमिकको हकहित संरक्षणलाई प्राथमिकता दिने जनाएको छ।
त्यस्तै, श्रमाधान योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै कल सेन्टर सुदृढ गर्ने, उद्योगहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने र आन्तरिक रोजगारी सिर्जनामा जोड दिने निर्णय पनि गरिएको छ।

