सर्लाही - युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
२०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो ।
घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दिन खोज्दा अस्वीकार गरिएको आरोप लगाइएको छ । तत्कालीन कार्यालय प्रमुख डिएसपी गौतम थापाले घटनालाई दबाउने प्रयास गरेको पीडितको भनाइ छ। हुलाकमार्फत पठाइएको जाहेरी समेत प्रहरीले दर्ता नगरेको आरोप छ।
न्यायका लागि पीडित पक्ष उच्च अदालत पुगेपछि अदालतले नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति धन कौल गाउँपालिका–३ का सुरेन्द्र प्रसाद सिंहसहित १० जनालाई प्रतिवादी बनाउँदै पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि असोज १४ गते मात्रै इप्रका बरहथवामा मुद्दा दर्ता गरिएको थियो ।
तर, अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि आरोपितहरू हालसम्म पक्राउ नपरेको भन्दै पीडितले गुनासो गरेका छन् । प्रभाव र पहुँचका आधारमा दोषीलाई संरक्षण गरिएको आशंका व्यक्त गर्दै उनले प्रशासनसँग निष्पक्ष छानबिन र शीघ्र कारबाहीको माग गरेका छन् ।

