Harsamaya
चैत १५: ओली र लेखकलाई ५ दिनको हिरासत देखि एकै दिन एक करोडको अवैध सामान बरामद सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

ओली र लेखकलाई ५ दिन हिरासत: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले प्रहरीलाई दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्। शनिबार पक्राउ परेका ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशसँगै अब उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।

एकै दिन एक करोडको अवैध सामान बरामद: रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा एकैदिन रु एक करोडको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो । बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेले आज ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । काठमाडौं, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु: नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले आज तीनवटा मन्त्रालयसँग प्रारम्भिक छलफल गरेको छ । आयोगका प्रवक्ता हरिशरण पुडासैनीका अनुसार अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आज बजेटसम्बन्धी छलफल गरिएको हो । 

रविको मुद्दा पूर्ण इजलासमा: रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने भनी महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश गरेको छ ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार यस्तो आदेश गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखेर बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गरेकी थिइन् ।

हप्ता दिन हिरासतमा राखेर अनुसन्धान: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । काठमाडौं जिल्ला अदालतले आज म्याद थपको अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update