काठमाडौं - नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ५ जनाको नाम आयोगमा पठाइनेछ। बाँकी तीन जनाको नाम भने समावेशी क्लस्टर मिलाएर पठाइने उनले बताए।
प्रवक्ता चालिसेका अनुसार पठाइने २० जनामध्ये कम्तीमा १५ जना महिला अनिवार्य रूपमा समावेश गरिनेछ। निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलहरूलाई सांसद सङ्ख्याको कोटा तोकेर नाम पठाउन आग्रह गरेको थियो।
कांग्रेसले आफूले पठाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने जनाएको छ। साथै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनको पूर्ण समीक्षा गर्दै पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता चालिसेले बताए।

