जनकपुर - प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन् ।
आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसंग आग्रह गरेका छन् ।
धनुषा र धनुषावासीलाई आफू भन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नु पर्ने कामहरुका बारेमा जुलीसंग छोटो छलफल गरेका छन् । सो क्रममा पराजित उम्मेदवार एवम नेकपा एमालेकी नेतृ महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन । साथै उनले धनुषामा गर्नुपर्ने कार्यहरुको बारेमा झालाई जानकारी गराएकी थिइन ।
उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।
एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्य योजनाहरु अगाडि बढाइसकेको र थोरै कामहरु गर्न मात्र बाँकी रहेकाले ती कार्यहरुलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन ।
नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र नीधिलाई भेटेका थिए । झाले यस क्षेत्रका सम्पूर्ण अग्रजहरुसंग भेटेर सरसल्लाह लिने कार्यक्रम रहेको बताए ।

