सिन्धुपाल्चोक - भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएका छन्।
‘राष्ट्र, लोकतन्त्र र समृद्धिका लागि कांग्रेस’ भन्ने नारासहित अघि बढेका शेर्पाले हिमाली क्षेत्रका समस्या, विकास र स्थानीय जनताको आवश्यकता पार्टीको नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको प्रचार सामग्रीमा पहाड, बस्ती र गाउँ–गाउँका समस्या केन्द्रमा राख्ने जनप्रतिनिधिका रूपमा शेर्पालाई प्रस्तुत गरिएको छ। हिमाली क्षेत्रको विकास, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार, युवा, शिक्षा र रोजगारीका अवसर सिर्जना, कृषि, पर्यटन तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणलाई उनले प्राथमिकतामा राखेका छन्।
त्यस्तै स्वास्थ्य, शिक्षा र सामाजिक न्यायका विषयमा निरन्तर पहल गर्ने तथा पारदर्शी, जिम्मेवार र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता पनि उनको प्रचारमा उल्लेख गरिएको छ।
शेर्पाले पार्टीका नेता तथा कार्यकर्ताको विश्वास र समर्थनसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन अपिल गरेका छन्।

