मध्यपूर्वमा निम्तिएको सङ्कटपछि नेपालले आयोजना गर्ने आइसिसी विश्वकप लिग २ शृङ्खला स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निर्धारित तालिकाअनुसार मार्च १० देखि नेपालले आयोजना गर्ने भनिएको युएई र ओमान सम्मिलित विश्वकप लिग २ को शृङ्खला स्थगित भएको जनाएको छ ।
हालै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि जबाफी हमलामा इरानले युएई, कतार, साउदी अरेबियालगायतका देशमा प्रहार गरेका कारण मध्यपूर्वको स्थिति तनाव रहेको सन्दर्भमा क्यानले अर्को सूचना नआएसम्मका लागि लिग २ को शृङ्खला स्थगित भएको जनाएको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन : गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदान स्थलको अनुगमन तथा प्रहरी प्रधान कार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् । मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।
उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक कार्यस्थलमा खटिएको बताए । गृहमन्त्री अर्यालले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।
आज भएको भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।
यी ६ किसिमका परिचयपत्रबाट पाइन्छ मतदान गर्न : निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले बताएको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सतहत्तर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको छ ।
मतदानका दिन पनि आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन बिहीबार पनि आवश्यकताका आधारमा आन्तरिक हवाई उडान सञ्चालन हुने जनाएको छ ।
प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ ।
मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ ।
इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु : अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्ध पोतलाई आक्रमण https://www.harsamaya.com/detail/18294गरी डुबाएको छ । श्रीलंकाली सरकारले यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको पुष्टी गरेको छ ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् ।
श्रीलंकाली नौसेनाले दुर्घटना स्थलबाट ३२ जना घाइते नौ सैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ ।

