काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदान स्थलको अनुगमन तथा प्रहरी प्रधान कार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् । मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।
उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक कार्यस्थलमा खटिएको बताए । गृहमन्त्री अर्यालले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिका स्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिएका हुन् ।
केन्द्रबाट मतदान स्थलमा मतपेटिका पुगे नपुगेको, मतदान प्रक्रिया प्रारम्भ भए नभएको सूचना सहजै प्राप्त गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । गृहमन्त्री अर्यालले सात वटै प्रदेशमा परिचालन भएका सुरक्षाकर्मी तथा निर्वाचन ‘डेस्क’का सुरक्षाकर्मीबारे जानकारी लिएका थिए ।

