इजरायल - आइतबार बिहान गाजामा भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्।
इजरायली सेनाले हमासले युद्धविराम उल्लंघन गरेपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एक अर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘बोर्ड अफ पिस’ नामक नयाँ निकायको घोषणा गरेका छन्, जसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले गाजाको सीमा सुरक्षा र हमासको निशस्त्रीकरणको जिम्मेवारी सुम्पिएको छ।
फेब्रुअरी १९ मा वासिङ्टनमा हुने यस बोर्डको पहिलो बैठकले गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन र युद्धपछिको पुनर्निर्माणको कामको पनि नेतृत्व गर्नेछ। ट्रम्पका अनुसार बोर्डका सदस्य राष्ट्रहरूले गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
हमासले भने स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने अडान राख्दै आएको छ।

