Harsamaya
माघ ६ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी  ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

कम उम्मेदवारी दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।  सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

काँग्रेस सभापति थापाले गरे सर्लाही क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्र प्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेका हुन् ।

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दैछन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । 

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । 

संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराएका छन् ।

मंगलबार बिहान निर्वाचन कार्यालय पुगेका बालेनले मनोनयन दर्ता गराएका हुन् । उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।

एमालेको दाबी, निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन् : नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि एमालेले अध्यक्ष केपी शर्मा ओलीलगायत  पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्‍यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको जानकारी गराएको हो ।

अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसपालि नेकपा (एमाले)ले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् । मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ छन् ।

कांग्रेस विवाद, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार :  नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट हालेका थियो ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग : सहकारी ठगी मुद्दामा अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । 

मंगलबार पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको हो । लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको छ । 

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य : माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न मतदातासँग परिचय खुल्ने सरकारी कागजात चाहिने बताएका हुन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update