Harsamaya
एमालेको दाबी : निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन्

काठमाडौं - नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि एमालेले अध्यक्ष केपी शर्मा ओलीलगायत  पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्‍यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको जानकारी गराएको हो ।

अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसपालि नेकपा (एमाले)ले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् । मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ छन् ।

सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत छन् । बागमती र गण्डकीमा यो सङ्ख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ । नेकपा (एमाले)ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरुद्धको जनमत सङ्ग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ ।
यसै सन्देशका साथ, अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका नाममा विध्वंसकारीहरूबाट जलाइएका झापाका सरकारी तथा व्यक्तिगत घरलगायत भौतिक संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेट गरेर आफ्नो निर्वाचन अभियान आरम्भ गरेका छन् ।

निर्वाचनमा पार्टीका उपाध्यक्षहरू गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २ बाट, पृथ्वी सुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । महासचिव शङ्कर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उपमहासचिवहरू लेखराज भट्ट कैलाली क्षेत्र नं ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

त्यसै गरी सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेर धन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौं क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ मा उम्मेदवारी दिएका छन् । यस्तै पार्टीका नेता ईश्वर पोखरेल काठमाडौ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् ।
नेकपा (एमाले) ले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आम मतदातासँग अपिल र अनुरोध गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवर्द्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले) को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आंकाक्षा हासिल गर्न नेकपा (एमाले) बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update