Harsamaya
माघ ४ : रवि-बालेनको राजीनामा देखी समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३ सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् । उनले भने- ‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न । कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यमार्गी बाटोबाट विचलित नहुने बताए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

हर्क साम्पाङले दिए राजीनामा: धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आज आइतबार राजीनामा दिएका हुन । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।

बालेनले दिए राजीनामा: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।  “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।

निर्वाचन आचार संहिता आजबाट लागू हुने:  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् । उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ ।

समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३: निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो। समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् । ११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।

सर्वोच्चले उल्ट्यायो नदी किनारा मापदण्डसम्बन्धी यसअघिको फैसला: सर्वोच्च अदालतले नदी किनारा मापदण्डसम्बन्धी फैसला संशोधन गर्दै केही उल्टी हुने फैसला गरेको छ । ०८० पुस ३ गते न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदी किनाराको २० मिटर क्षेत्र कायम राख्दै थप २० मिटर निर्माण निषेधित क्षेत्र कायम गर्न परामादेश जारी गरेको थियो । जनहित संरक्षण मञ्चका तर्फबाट दायर रिटको फैसला गर्दै न्यायाधीशद्वय भट्टराई र शर्माको इजलासले थप २० मिटरको निर्माण निषेधित क्षेत्रमा नक्सा पास गरेर संरचना निर्माण भइसकेको पाइएमा कानुनबमोजिम क्षतिपूर्ति दिएर अधिग्रहण गर्न आदेश भएको थियो । 

नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित: आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update