Harsamaya
पुष २८: नेपाली काँग्रेसका सभापति  देउवाले महामन्त्रीद्वय  थापा र  शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन् । सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘यसले केन्द्रीय कार्यसमितिले निर्णय गरेको वैधानिक महाधिवेशन हुन्थ्यो तर त्यो भएन । यस्तो अवस्थाले कतै पार्टी अप्ठ्यारोमा पर्ने विभाजन हुने होइन भन्ने आशङ्का उत्पन्न भएपछि सभापतिले छलफल गर्नुभयो । भेलामा सहभागी पार्टीका साथीहरूको सम्मानको लागि कसरी यसलाई शान्तिपूर्ण ढङ्गबाट निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने हो ।

पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।

छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।

कोइरालाले आफू बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ । भोलि बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा कार्यसमितिका पदाधिकारी सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन  अनुरोध गरिएको छ । 

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

८५ पुग्यो समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो सङ्ख्या अझै केही थपिन सक्नेछ ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उनीहरूलाई आइतबारसम्म समावेशी क्लस्टर मिलाउने समय दिइएको थियो ।

उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्छ । वा वारेस मार्फत समेत उम्मेदवारी फिर्ताको निवेदन दिन सकिन्छ ।

नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) का एक समूहबीच पार्टी एकता तथा समायोजनसम्बन्धी सहमति भएको छ ।

नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमति अनुसार लिम्बुवानको पहिचानसम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ ।

गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा :  गृह मन्त्रालयले उपसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन र सरुवा गरेको छ । २०८२ पुस २८ गतेको निर्णयअनुसार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत निर्देशक मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने जिल्ला प्रशासन कार्यालय डोल्पामा कार्यरत प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश  चिन्तित : 

भेनेजुएलामाथि हालै गरिएको अमेरिकी सैन्य कारबाही र त्यहाँका राष्ट्रपतिको नियन्त्रणलाई बोस्निया तथा हर्जगोभिनाका विज्ञहरूले गम्भीर रूपमा अध्ययन गर्नुपर्ने घटनाका रूपमा व्याख्या गरेका छन् । 

उनीहरूका अनुसार यस प्रकारका कदमहरूले विशेषगरी साना तथा विकासोन्मुख देशहरूमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ ।

बोस्नियाली राजनीतिक विश्लेषक तथा पूर्व कूटनीतिज्ञ फुआद दिदिचका अनुसार उक्त अमेरिकी कदमलाई एकल घटनाका रूपमा मात्र नभई व्यापक रणनीतिक नीतिको हिस्साका रूपमा बुझ्न आवश्यक छ । 

उनले हालै सार्वजनिक गरिएको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव पुनःस्थापना गर्ने उद्देश्य उल्लेख गरिएको बताउँदै जनवरी ३ मा भएको भेनेजुएलासम्बन्धी कारबाही त्यस रणनीतिलाई कार्यान्वयन गर्ने ठोस प्रयासका रूपमा देखिएको बताए । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ परिस्थितिको संकेत दिएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update