Harsamaya
पुस २७: काँग्रेस विशेष महाधिवेशन देखि अमेरिकी बन्न नचाहेको ग्रीनल्याण्डका राजनीतिक दलहरूको स्पष्टोक्ति सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान १० बजे देखि मात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो । 

आइतबार साँझसम्म २ हजार बढी प्रतिनिधिले रजिस्ट्रेसन गरिसकेको सचिवालयले जनाएको छ । दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर : नेपाली काँग्रेसको विशेष महाधिवेशनको पक्षमा ४६.४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेशबाट ३७५, मधेश प्रदेशबाट ४१२, बागमती प्रदेशबाट ३८२, उपत्यकाका २००,  लुम्बिनी प्रदेशबाट ३००, कर्णाली प्रदेशबाट ११२, गण्डकी प्रदेशबाट २३५,  सुदूरपश्चिम प्रदेशबाट १०५ र भातृ शुभेच्छुक जनसम्पर्कबाट ८० गरी जम्मा २२०१ जना अर्थात् ४६.४० प्रतिशत प्रतिनिधिहरूले  महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् । 

विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र काँग्रेस सबैको साझा घर भएको बताएका छन्। आइतबार नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्म समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले अधिवेशनभन्दा ठुलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको सङ्घर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए ।

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । 

निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् ।

उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे । 

‘राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ ।

समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोलि नाम फिर्ता लिनसक्ने : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकका लागि बुझाइएको बन्दसूचीबाट उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ ।

आयोगले बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिन सक्ने जनाएको छ ।

आयोगले बिहान १० देखि दिउँसो २ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको छ ।

ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’ : 

ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन्। शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ ।

डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् । “हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update