काठमाडौं - नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान १० बजे देखि मात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो ।
आइतबार साँझसम्म २ हजार बढी प्रतिनिधिले रजिस्ट्रेसन गरिसकेको सचिवालयले जनाएको छ । दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । यति नै भनेर यकिन नभए पनि थुप्रैको सङ्ख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।
यता कति महाधिवेशन प्रतिनिधिले आइतबार बेलुकीसम्म दर्ता गरे भन्ने यकिन भएको छैन । दुई हजार दुई सय भन्दा बढीले दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबार मात्र यकिन विवरण आउने छ ।

