Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र काँग्रेस सबैको साझा घर भएको बताएका छन्।
आइतबार नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्म समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले अधिवेशनभन्दा ठुलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको सङ्घर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए । उनले अधिवेशनमा सहभागी नहुने सभापति पनि काङ्ग्रेसकै सदस्य भएको र भुईँमा बसेर सहभागी हुने सदस्य पनि काङ्ग्रेसकै सदस्य भएको उल्लेख गर्दै पदका आधारमा कोही ठुलो–सानो नहुने स्पष्ट पारे ।

उनले भने, ‘हामीले एक ठाउँमा आउनुपर्छ, समीक्षा गर्नुपर्छ । त्यसको निम्ति अधिवेशन भन्दा अर्को मञ्च हाम्रो लागि सानो हुन्छ । यो शक्तिको, सत्ताको सङ्घर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने जनभावनाको कदर गर्ने की नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा कोही यहाँ भयौँ कोही हामी यहाँ हुन सकेनौँ । यहाँ नआएका सभापति पनि काँग्रेसको सदस्य हो भने भुईँमा तल बस्ने पनि काँग्रेसको सदस्य हो । दुई वटै बराबर हो । यहाँ कोही ठुलो कोही सानो छैन । पद र जिम्मेवारी मात्रै भिन्न हो, सबै बारबार हुन् । काँग्रेस भनेको पनि त्यही हो । काँग्रेस सबैको साझा घर हो । यहाँ कोही सदस्य कसैका दास होइनन् । सबैको हक छ । पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो ।

आजबाट काँग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’

महामन्त्री थापाले पार्टी सञ्चालनको लामो समयदेखि जाम भएर बसेको पुरानो शैली अब भत्किएको दाबी गरे । उनले तल बस्ने सदस्यलाई माथि बस्नेले सम्मान गर्नुपर्ने संस्कार स्थापित हुनुपर्ने धारणा पनि राखे । त्यसै गरी, उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि पार्टी सदस्यहरूले पनि नेतृत्वलाई सचेत गराएको उल्लेख गरे । पार्टी सञ्चालनको हालको तरिका ठिक नभएको भन्दै सरकारमा जानका लागि जे पनि गर्ने र सरकारबाट बाहिरिँदा सबै सकिएको जस्तो व्यवहार गर्ने प्रवृत्तिको आलोचना गरे ।

यो विशेष महाधिवेशन सदस्यहरूको मागबाट भएको उल्लेख गर्दै महामन्त्री थापाले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग उठेको बताए । महाधिवेशन कहाँ गएर टुङ्गिन्छ भन्ने विषयमा आफूलाई पनि थाहा नभएको भन्दै उनले हाउसले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने स्पष्ट पारे । उनले काँग्रेस दास र लासहरूको पार्टी नभई काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछाडि पार्टीका सदस्यहरूले पनि भने तपाईँहरू सुध्रिनुपर्छ अब । पार्टी जसरी चलेको छ, ठिकठाक चलेको छैन । सरकारमा जानका लागि जे पनि गर्ने, सरकारबाट बाहिर बस्नुपर्‍यो भने सबै कुरा सकिएको जस्तो गर्ने हामीले गर्दै आयौँ । यो विशेष महाधिवेशनको एजेन्डा यो यो छ त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भन्न सकिन्थ्यो होला । यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो । तपाईँहरूले माग्दै गर्दा के माग्नु भएको छ नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन । किनकि म पनि तपाईँहरूले बोलाएर आएको पाहुना हो । तपाईँहरूले आयोजना गर्नुभएको छ । भोलि अधिवेशनको हाउस बस्छ, हाउसले डिसाइड गर्छ । जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ । काँग्रेस दास र लासहरुको पार्टी होइन, काँग्रेस जिउँदो मानिसहरुको पार्टी हो । काँग्रेसमा प्रश्न मरेको छैन, यहाँ हामी सबै बराबर छ हामी सबै बराबर छौँ ।’

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update