Harsamaya
पुष २६: रवि-कुलमान एकता तोडिएको देखि कांग्रेस विशेष महाधिवेशनको प्रसंग सम्म
ग्राफिक्सः हर समय/harsamaya

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन्। शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

कांग्रेस विशेष महाधिवेशनः नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्लाका सभापतिहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । शनिबार उनीहरूले आउँदो वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका हुन् ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न भएको छ । आइतबारदेखि शुरू हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटन शत्रलाई सभ्य र भब्य बनाउन मञ्च ब्यवस्थापनको काम पनि सकिएको आयोजकले जानकारी दिएको छ । 

धनुषामा झडप हुँदा १२ जना घाइते: धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्। जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए।

निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो: नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ ।निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए ।

होमनाथ दाहालको निधन: नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन (हिजो) पुस २५ गते साँझ वीर अस्पताल मा उपचारार्थ पुर्‍याइँदै गर्दा भएको हो। केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।

रवि र कुलमानको एकता तोडियो:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग भएको छ । यसै महिना एकता भएको रास्वपा र उनपाको एकता भंग भएको हो । अब दुवै दल आ-आफ्नै ढंगले चल्ने भएका छन् । पार्टी एकतापछि कुलमान रास्वपा सभापति भएका थिए ।

‘अन्न एटीएम’ सञ्चालन: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । खाद्य कम्पनीकी प्रादेशिक प्रमुख धर्म कुमारी राजवंशीका अनुसार उपभोक्तालाई सहज, पारदर्शी र प्रविधिमैत्री सेवा दिने उद्देश्यले खाद्य एटीएम सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update