Harsamaya
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए । निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरराजस्व योगदान गरेको छ ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे ।

निगमले पछिल्ला वर्षहरूमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ । मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ ।

यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा. भट्टको भनाइ छ । यसैगरी, पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update