काठमाडौं - नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ।
उनको निधन (हिजो) पुस २५ गते साँझ वीर अस्पताल मा उपचारार्थ पुर्याइँदै गर्दा भएको हो।
केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।
उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत छन्। दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन् ।
स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने बताइएको छ । सबैलाई उपस्थित हुने लागि जानकारी गराइएको छ।
होमनाथ दाहालको योगदान पत्रकारिता क्षेत्रमा मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजिक चेतनामा पनि सदा स्मरणीय रहनेछ ।

