Harsamaya
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म
ग्राफिक्सः हर समय/harsamaya

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

मन्त्री खरेलको स्पष्टोक्ति - आजसम्म कुनै पार्टीमा आवद्ध : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे । आफ्ना बारेमा बिभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए ।

विशेष महाधिवेशन पक्षधरले गठन गरे १८ वटा उपसमिति : विशेष महाधिवेशन पक्षधरले १८ वटा उपसमिति गठन गरेको छ। आज पत्रकार सम्मेलन गर्दै विभिन्न १८ वटा समिति गठन गरेको हो ।

 उनीहरूले देशभरका महाधिवेशन प्रतिनिधलाई काठमाडौं आउन पनि अनुरोध गरेका छन् । विशेष परिवेशमा हुन लागेको विशेष महाधिवेशनमा सहभागी हुन सबैलाई आमन्त्रण गरेका हुन् । 

कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित : राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता : गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।

मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष मा. जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।

पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।

शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते : काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा  महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  भएको हो।

मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । बस चालक ध्रुव रेग्मी घाइते भएका छन् । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद : अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने : संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १-बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १-बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् । 

पेरिसमा १४० उडान रद्द :  हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन्  । 

मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए । उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update