जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन्। आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
रवि र बालेनबीच बृहत् एकता: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रवि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ । आज बिहानै ४ बजे महानगरपालिकाका प्रमुख शाह र लामीछनेबिच आगामी निर्वाचनमा मिलेर जान लिखित सहमति भएको हो ।
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।
निर्वाचन आचारसंहिता : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् ।आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धी आचारणको विषय राखिएको छ ।
एमाले सचिवालय बैठकः नेकपा एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकको बन्दसूची बुझाउने भएको छ ।आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नामावलीमा केही सुझावसहित आवश्यक परिमार्जन गरेर भोलि निर्वाचन आयोगमा पेश गरिने जानकारी दिए ।
कांग्रेसको माग: नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ । कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।
राष्ट्रिय भलिबल प्रतियोगिताः राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो।
एनएसजेएफ पल्सर स्पोट्स अवार्ड: २२ औं एनएसजेएफ पल्सर स्पोट्स अवार्ड पुस २३ गते आयोजना हुने भएको छ । जेनजी आन्दोलनका कारण यसअघि प्रभावित भएको अवार्ड पुस २३ गते बुधबार पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले जनाएको हो । अवार्डअघि पुस २२ गते एनएसजेएफ स्पोट्र्स समिट पनि पोखरामा नै आयोजना गरिने मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए ।
मिस हात्ती सुन्दरी: सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाकंमध्ये २५० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् ।

