Harsamaya
राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं- राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल गर्‍यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

यसैगरी आजै भएको महिलातर्फको दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले सुदूरपश्चिममाथि २५–६, २५–११ र २५–१२ अङ्कको जित निकाल्यो ।

त्यस्तै विभागीय टोली आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मी २५–१६, २५–१२ र २५–९ अङ्कका साथ विजयी भएको हो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update