काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकको बन्दसूची बुझाउने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नामावलीमा केही सुझावसहित आवश्यक परिमार्जन गरेर भोलि निर्वाचन आयोगमा पेश गरिने जानकारी दिए ।
भट्टका अनुसार बैठकमा अध्यक्ष ओलीले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए। अध्यक्ष ओलीले निर्वाचनका लागि उचित शान्ति सुरक्षाको वातावरण हुनुपर्नेमा जोड दिएको उपमहासचिव भट्टले बताए । निर्वाचनमा सेना परिचालनको विषयमा उठेका केही भ्रमहरूको खण्डन ओलीले गरेको उनले बताए।
'सेना बाहिरी घेरामा बस्ने हो, आन्तरिक सुरक्षा र निर्वाचनको वातावरण बनाउने काम प्रहरी र प्रशासनको हो। प्रहरीको मनोबल उच्च हुनुपर्छ,' ओलीको भनाई उधृत गर्दै उनले भने।
बैठकले निर्वाचनलाई लक्षित गरी पार्टीका तल्लो तहका कमिटीहरूलाई सक्रिय बनाउने र हरेक बुथमा 'राष्ट्रिय स्वयंसेवक संघ'लाई परिचालन गर्ने निर्णय समेत गरेको छ। एमालेले संसदको पुनर्स्थापना र लोकतान्त्रिक विधि पद्धतिको रक्षाका लागि आफ्नो अडान कायमै राखेको समेत भट्टले स्पष्ट पारे।

