Harsamaya
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

काठमाडौं - उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीमा पार्टीका युवा नेता किरण विकले कार्यक्रम गरी दलित समुदायबाट राज्यको शीर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेन्डा बनाउनेसमेत जनाए ।

विकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,‘मुख्य पुराना दलहरूले दलित समुदायलाई सत्तामा पुग्ने भर्‍याङ र भोट बैङ्कको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनीहरूलाई निर्णायक नेतृत्वमा पुर्‍याउने छ ।’

उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र उनीहरूको सम्मानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे ।

‘उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायिक समाजवाद नै दलित समुदायको हक–हितको संरक्षण, सामाजिक न्याय सुनिश्चित र दलित विभेदको अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन हो,’ विकले भने । उनले एमाले, काँग्रेस र माओवादी जस्ता: पुराना दलहरूले दलित समुदायलाई वास्तविक राजनीतिक अवसर नदिई भोटको मात्र दुरुपयोग गरेको आरोप लगाए ।

सुशासनलाई आधार बनाएर उज्यालो नेपाल पार्टीले निजामती सेवा, प्रहरी, पुरस्कार प्रणाली, अदालत तथा गैरसरकारी संस्थाहरूमा दलितको सहभागिता सुनिश्चित गर्ने र त्यहाँ हुने विभेदविरुद्ध कडा कारबाही गर्ने नीति लिएको उनले बताए ।

‘देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी हुन्छ,’ भन्दै उनले दलितलाई गरिब बनाएर देश समृद्ध बन्न नसक्ने स्पष्ट पारे ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै विकले दलितको नाममा खोलिएका छुट्टै दलहरूले थ्रेसहोल्ड मतसमेत कटाउन नसक्ने दाबी गरे ।

छुट्टै दलित पार्टी खोल्नुले दलित आन्दोलनलाई मूलधारबाट वञ्चित गराउने भएकाले त्यसको आवश्यकता नरहेको उनको भनाइ थियो ।
दलित मुक्ति समाजका अन्य समुदायसँग सहकार्य गरेर मात्र सम्भव हुने उल्लेख गर्दै उनले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलिरहेको चिममा भोट हाल्न सम्पूर्ण दलित समुदायलाई आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update