काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बालेन्द्र शाह सरकारप्रति जनआक्रोश बढ्न थालेको संकेत देखिएको छ।
मधेसमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई कार्यक्रमस्थलबाटै बाहिरिनुपर्ने अवस्था आएपछि सरकार र नागरिकबीच बढ्दै गएको दूरीबारे बहस सुरु भएको छ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ नजिकको जनमत पाएर सरकार गठन गरेको रास्वपाले परिवर्तन, सुशासन र परिणाममुखी शासनलाई आफ्नो मुख्य प्राथमिकता बताउँदै आएको छ। तर, सरकारका प्रतिबद्धता र नागरिकले दैनिक जीवनमा भोगिरहेको अवस्थाबीच अन्तर बढ्दै गएको गुनासो सार्वजनिक हुन थालेको छ।
सरकार गठन भएको केही समयमै मन्त्री सार्वजनिक कार्यक्रममा असहज अवस्थामा पर्नुलाई सरकारप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा समेत हेरिएको छ।
यसअघि रास्वपाकै सांसद अमरेश सिंहले ‘छठपछि जनताले सरकारलाई लखेट्ने’ चेतावनी दिएका थिए। तीजअघि नै मधेसमा मन्त्रीलाई कार्यक्रमस्थलबाट बाहिरिनुपर्ने अवस्था आएपछि सिंहको उक्त अभिव्यक्ति पुनः चर्चामा आएको छ।
मन्त्री पोखरेललाई कार्यक्रमस्थलबाट बाहिरिन बाध्य पारिएको घटनाले सरकारको जनसम्बन्ध, कार्यशैली र नागरिक अपेक्षाबीचको दूरीबारे राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

