Harsamaya
संकटमा नागरिकसँगै बाह्रबिसे नगरपालिका, चीनबाट फर्किएका नेपालीलाई यातायात सहयोग
बाह्रबिसे नगरपालिकाले चीनबाट फर्किएका नागरिकलाई गन्तव्यमा पुर्याउन राखिएका बसहरू । तस्वीर : नगरप्रमुख बालकृष्ण बस्नेत

सिन्धुपाल्चोक - रसुवा–भोटेकोशी बाढीका कारण चीनतर्फ रोकिएर बसेका सयौँ नेपाली नागरिक आज तातोपानी–लिपिङ नाकाबाट स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएका नागरिकलाई तातोपानीबाट काठमाडौँसम्म सुरक्षित रूपमा पुर्‍याउन बाह्रबिसे नगरपालिकाले तीन वटा अरनिको बसको भाडा व्यवस्थापन गरेको जनाएको छ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहल तथा सल्लाहमा नगरपालिकाले यातायातको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिएका छन्।

बाढीका कारण चीनतर्फ अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्किएपछि गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले यातायात व्यवस्थापन गरेको हो।

नगरप्रमुख बस्नेतले विपद्का बेला नागरिकको उद्धार, सहयोग र सेवामा स्थानीय सरकार जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताएका छन्।

उनले भनेका छन्, “संकटमा परेका नागरिकको उद्धार, सहयोग र सेवा गर्नु मेरो जिम्मेवारी र दायित्व हो। जनताको दुःखलाई आफ्नै दुःख ठानी निष्पक्ष र जिम्मेवार ढङ्गले सेवामा निरन्तर समर्पित छु।”

भोटेकोशी बाढीपछि चीनतर्फ रोकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउने तथा उनीहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने कार्यमा विभिन्न निकाय र स्थानीय तहले सहजीकरण गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update